FAQs Complain Problems

माई नगरपालिकाको छोटो परिचय

गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं – ५ मिलाएर बनेको माई नगरपालिका कोशी प्रदेशको ईलाम जिल्ला अन्तर्गत पर्दछ । २४६.०९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३०,७३२ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।

यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ ।व्यवसायिक कृषि खेति गरि  धान , केरा, सुपारी  र मासुजन्य उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । स्थानीय उत्पादनलाई छिमेकी जिल्ला झापाको सनिस्चरे, बिर्तामोडमा विक्री गर्ने यहाका मानिसरुको दोश्रो पेशा भनेको वैदेशिक रोजगार समेत हो , यसका अलावा यहाँका जनता सरकारी, निजि सेवा, सुरक्षा क्षेत्र, व्यापार व्यवसायमा समेत आवद्द रहेका छन् |

  सखुवा, सिमल, करम, लामपाते, साज, चिलाउने,सादन जस्ता रुख, चिराइतो, हर्रो, बर्रो, तुलसी, अमला,तितेपाती  जस्ता औषधि पाइने यस पालिकामा  जिल्लामा सबै भन्दा बढी ६० वटा सामुदायिक बन रहेको छ भने १३ कुने सिमसार, सितली चिया बगान, शोक्तिम चिया बगान, शिव पोखरी, झन्डीडाँडा शिवालय, पुर्वे झोडा, गिट्टी डांडा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन । धार्मिक, भाषिक, संस्कृतिक विविधता रहेको यस पालिकामा मुख्य रुपमा लिम्बु, तामाङ्ग, राई, मगर, नेवार, कुमाल, ब्राह्मण, क्षेत्री र दलित जाति र धर्ममा   किरात, हिन्दु, बौद्ध र इसाई धर्मावलम्वीहरुको बसोबास रहेको छ, आ-आफ्नै धर्म अनुसारको चाडपर्व जस्तै दशैतिहार, ल्होसार, उधौली उभौली, धान नाच, चण्डी नाच , बौद्ध जयन्ती , इद आदी पर्वहरु यहाँ मनाइने मुख्य चाडपर्व हुन । बहुजातीय , बहुधार्मिक , बहुसांस्कृतिक , बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ ।

पालिककाका १० वटै वडामा आधारभूत स्वास्थ्य चौकी एवं स्वास्थ्य चौकी उपलब्ध भएको यस पालिकामा १५ सैय्याको अस्पताल, पालिकाको केन्द्र सितलीमा निर्माणको प्रक्रियामा छ | यसै गरि यस पालिकामा ४४ वटा सामुदायिक विद्यालय र १४ वटा निजि विद्यालय  रहेका छन | पूर्वाधारका हिसाबमा हेर्ने हो भने, खुदुनाबारी-सुखानी-राजदुवाली सडक अन्तर्गतको सुखानी लोदिया कालोपत्रे, वडा नं. ३ मुसेखोला कालो पत्रे, माई पुल, लोदिया पुल, सुखानी पुल, प्रत्येक वडा सम्म सडक पुग्नु, महमाई-माङसेबुङ कालो पत्रे ठेक्का लाग्नु  आदि स्थानीय तह स्थापना भए पश्चात प्राप्त भएका उल्लेखनीय सुविधा र पूर्वाधार हुन  |