समाचार
वडा नं १
माई नगरपालिका वडा नं. १ : परिचय
माई नगरपालिकाको पश्चिमी भेगमा अवस्थित साविक दानावारी गाविसका वडा नं. ८ र ९
मिलेर हालको माई नगरपालिका वडा नं. १ निर्माण भएको हो। यो वडा समुद्री सतहबाट
करिब २०० देखि २३३.५ मिटर उचाइमा अवस्थित छ।
यस वडाको पूर्वमा माई नगरपालिका वडा नं. ३, पश्चिममा माङ्सेबुङ गाउँपालिका तथा
देउमाई नगरपालिका, उत्तरमा देउमाई नगरपालिका र माई नगरपालिका वडा नं. ९ तथा
दक्षिणमा माई नगरपालिका वडा नं. ६, ७ र ८ रहेका छन्। भौगोलिक, सामाजिक तथा
सांस्कृतिक विविधताले सम्पन्न वडा नं. १ माई नगरपालिकाको विशिष्ट वडामध्ये एक हो।
सामाजिक तथा सांस्कृतिक अवस्था
यस वडामा राई र लिम्बू समुदायको बाहुल्यता रहेको छ। साथै मगर, सुनुवार, श्रेष्ठ,
तामाङ, क्षेत्री, ब्राह्मण, कामी, दमाई, सार्की, गुरुङ तथा भुजेललगायत विभिन्न
जातजातिको बसोबास रहेको छ।
यहाँका स्थानीयवासीहरूले किरात, इसाई, बौद्ध तथा हिन्दु धर्म मान्ने गर्दछन्।
दशैं, तिहार, उधौली, उभौली, माघे सङ्क्रान्ति तथा क्रिसमस यहाँका प्रमुख
चाडपर्व हुन्। विविध जातजातिका आफ्नै रीतिरिवाज, संस्कृति, भाषा तथा भेषभूषाले
यस वडाको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाएको छ।
यस वडाका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन् भने केही नागरिक व्यापार,
व्यवसाय, सरकारी तथा गैरसरकारी सेवा र अन्य पेशामा समेत संलग्न रहेका छन्।
कृषि तथा आर्थिक अवस्था
कृषिमा आधारित यस वडाको मुख्य आम्दानीका स्रोतहरूमा केरा, सुपारी, अम्लिसो, बाँस,
अदुवा, धान, मकै, कोदो तथा विभिन्न प्रकारका दाल रहेका छन्। साथै कागती,
खोर्सानी, टमाटर र सजिवनजस्ता बालीको समेत उत्पादन हुने गरेको छ। अन्य विभिन्न
फलफूलको व्यावसायिक उत्पादनका लागि पनि यस क्षेत्रमा प्रशस्त सम्भावना रहेको छ।
यस वडामा उत्पादन हुने प्रमुख कृषि तथा पशुजन्य वस्तुहरू निम्नानुसार रहेका छन्:
- खाद्यान्न: धान, मकै, कोदो
- फलफूल: आँप, लिची, कटहर, केरा
- तरकारी: रायोको साग, तोरीको साग, टमाटर, खोर्सानी, आलु
- तेलहन: तोरी
- पशुजन्य उत्पादन: बाख्रा, सुँगुर, कुखुरा, गाई तथा भैंसी
भौतिक पूर्वाधार तथा सेवा सुविधा
यस वडामा करिब ९० प्रतिशत क्षेत्रमा सडक सुविधा पुगेको छ भने करिब ७०० मिटर
पक्की सडक निर्माण भएको छ। करिब ८७ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ भने
करिब ३५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको सुविधा पुगेको छ।
धार्मिक तथा पर्यटकीय सम्भावना
खत्रक्पा, १३ कुने सिमसार, तारेभिर, ९ कुने सिमसार तथा घण्टे झोलुङ्गे पुल यस
वडाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हुन्। यी स्थानहरूले पर्याप्त पर्यटकीय
सम्भावना बोकेका छन्। उचित संरक्षण, प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सकेमा
यी क्षेत्रहरू आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने महत्वपूर्ण गन्तव्यका रूपमा
विकास हुन सक्छन्।
वन तथा प्राकृतिक स्रोत
यस वडामा ९ वटा सामुदायिक वन रहेका छन्। यहाँ सखुवा, सिमल, करम, लामपाते,
साझलगायत विभिन्न प्रकारका वनस्पति पाइन्छन्। साथै हर्रो, बर्रो, कुरिलो, अमला,
चानमारा तथा सजिवनजस्ता औषधिजन्य वनस्पति पनि प्रशस्त मात्रामा पाइन्छन्।
यस्ता वनस्पतिको वैज्ञानिक तथा व्यावसायिक उपयोग गर्न सकेमा स्थानीय आयआर्जनको
महत्वपूर्ण स्रोत बन्न सक्ने सम्भावना रहेको छ।
यस वडाको ठूलो भूभाग चुरे क्षेत्रमा पर्ने भएकाले यहाँ माई खोला, लोदिया खोला,
हिले खोला, सानो हिले खोला, सन्धुवा खोला, सुनझोडे तथा वाइरुपा खोलालगायत
विभिन्न नदी तथा खोलाहरू रहेका छन्। वर्षायाममा यी खोलाहरूबाट कहिलेकाहीँ
जनधन तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ।
शिक्षा तथा स्वास्थ्य
यस वडामा १ वटा माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालय गरी जम्मा ५ वटा
विद्यालय सञ्चालनमा रहेका छन्।
स्वास्थ्य सेवाका लागि यस वडामा १ वटा सामुदायिक आधारभूत स्वास्थ्य केन्द्र
रहेको छ, जहाँ सामान्य स्वास्थ्य उपचार तथा सेवा उपलब्ध हुँदै आएको छ। थप तथा
विशेषज्ञ उपचार आवश्यक परेमा स्थानीयवासीहरू माई नगर अस्पताल तथा छिमेकी जिल्ला
झापाका विभिन्न अस्पतालमा जाने गरेका छन्।
वडा सम्बन्धी संक्षिप्त विवरण
विवरण
जानकारी
समावेश साविक गाविस
दानावारी (वडा नं. ८ र ९)
जनसंख्या
३,६२६
क्षेत्रफल
३४.४४ वर्ग कि.मी.
जनप्रतिनिधि तथा कर्मचारी विवरण
पद
नाम
सम्पर्क नम्बर
वडा अध्यक्ष
राम बहादुर राई
९८१०२००४६५
कार्यपालिका सदस्य
कर सिंह राई
९८४२७८६१६०
कार्यपालिका सदस्य
राजेन्द्र राई
९८१४०८४१६७
वडा सदस्य
दिल कुमारी राई
९८४२६४२३१६
वडा सदस्य
भगवती देवी बराइली
९८१५०४९५३७
वडा सदस्य
राज कुमार लिम्बु
९८६३६२३३५३
वडा सदस्य
इन्दिरा श्रेष्ठ
९८२४९६६२८०
वडा सचिव
सागर थापा
९८१६९९४१८१
कार्यालय सहयोगी
कल्पना फागो
९८६२६७९१२९







